टी-२० विश्वकप : जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

जनता संवाददाता
२०७९ कार्तिक १३ गते, आईतवार

काठमाडौँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो।

जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले रोमाञ्चक जित निकालेको हो। पहिला ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्टोले ७१ रनको सानदार अर्धशतकीय इनिङ खेले। यस्तै, कप्तान सकिब अल हसनले २३ रन बनाउँदा अफिफी होसेइनले २९ रन बनाएका थिए।

त्यस्तै, लिटन दासले १४ रन बनाएका थिए। जिम्बावेका लागि रिचार्ड नगराभ र ब्लेसिङ मुजारबानीले समान २-२ विकेट लिएका थिए।

मध्यम स्कोर पछ्याएको जिम्बावेले ३५ रन जोड्दा ४ विकेट गुमाए पनि त्यसपछि सम्हालिँदै प्रतिस्पर्धात्मक खेल खेलेको थियो। तर, तीन रनले हार भोग्न बाध्य भयो। अनुभवी ब्याटर सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए।

त्यस्तै, रयान बर्लले २७ रनमा अविजित रहे। रेजिस चकभा १५, वेस्ली मेधरेवे ४, क्रेग इर्विन र मिल्टन सुब्बा ८-८ रनमा आउट भए। सिकन्दर राजा शून्यमा आउट भए।

बंगलादेशका तस्किन अहमदले ३ विकेट लिँदा मुश्ताफिजुर रहमान र मासाद्देक हसनले समान २-२ विकेट हात पारेका थिए।

जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई एक रनले हराएको थियो। जिम्बावेले अब बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्ने छ।

बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो। बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्ने छ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते, आईतवार


Scroll to Top

Janata Media