टी–२० विश्वकपः अस्ट्रेलियाद्धारा आयरल्यान्ड ४२ रनले पराजित

जनता संवाददाता
२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा घरेलु टोलीले दोस्रो जित हासिल गरेको छ। समूह २ अन्तर्गत सोमबार ब्रिसबेनमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै प्रतियोगिताको चौथो खेलमा दोस्रो जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जवाफमा आयरल्यान्ड १८।१ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो।

अस्ट्रेलियाको जितमा कप्तान एरोन फिन्चको ६३ रनको अर्धशतकीय इनिङ खेल्दा मिचेल मार्सले २८ रन बनाएका थिए। त्यस्तै मार्कुस स्टोइनिसले ३५ रन बनाउँदा टिम डेभिड १५ रनमा नटआउट रहे। ग्लेन म्याक्सवेलले १३ रन जोडेका थिए। आयरल्यान्डका बेरी म्याकार्थीले ३ विकेट लिँदा जोस लिटलेले २ विकेट लिएका थिए।

१ सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड भने खराब सुरुवातको सिकार भयो। २५ रन जोड्दा ५ विकेट गुमाएको आयरल्यान्डलाई लोरकान टुकेरले सम्हालेका थिए। उनले ७९ रनको नटआउट सानदार इनिङ खेले पनि अर्को छेउबाट लगातार विकेट पतन नरोकिएपछि आयरल्यान्ड ४२ रनले पराजित भयो।

टुकेर बाहेक अन्य खेलाडीको प्रदर्शन भने बिर्सनलायक रह्यो। अस्ट्रेलियाका लागि एडम जाम्पा, मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान २–२ विकेट लिएका थिए।

जितसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कायमै रहेको छ। समूह १ मा अस्ट्रेलिया ५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलियाले ४ खेलमा २ जित र एक हार तथा एक ‘नो रिजल्ट’सहित ५ अंक बनाएको हो। न्यूजिल्यान्ड ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा रहेको छ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते, सोमबार


Scroll to Top

Janata Media