बाजुराको बुढिनन्दा ५ मा पुनः मतदान सम्पन्न 

जनता संवाददाता
२०७९ मंसिर १० गते, शनिबार

काठमाडौं। बाजुराको बुढिनन्दा ५ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान शनिबार भएको हो ।

९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थिले बताएका छन् । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको अवस्थिले जनाए। मतदानको समयमा सामान्य विवाद समेत नभएर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले बताएको छ।

मंसिर ४ गते मतदना सुरु भएको केही समयमै कांग्रेस र एमालेबीच झड्प हुदा मतदान अधिकृतले मतदान स्थगित गरेको सूचना टाँसेका थिए । निर्वाचन आयोगले मंसिर १० गते पुनः मतदान गर्नेगरी मिति तोकेको थियो ।

शनिबार सम्पन्न भएको मतदानसँगै बाजुरामा मतदान सम्पन्न भएको छ । तर कांग्रेसले ८ वटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राखेको छ । मतदान केन्द्र कब्जा भएर फर्जी भोट खसाएको एकअर्काले आरोप लगाएका छन् ।

केही मतदान केन्द्र कब्जा भएको जानकारीपछि निर्वाचन आयोगको टोली बाजुरा अनुगमनमा पुगेको छ । आयोगका सहसचिब तुलसि श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली बाजुरा पुगेर छानबिन गरिरहेको छ । राजनीतिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाई भेटेर मतदानको बारेमा बुझिरहेको छ ।

प्रकाशित मिति : २०७९ मंसिर १० गते, शनिबार


Scroll to Top

Janata Media