रास्वपाले संसदीय दलको कार्यालय छ्ट्टै गर्न माग गर्यो

जनता संवाददाता
२०७९ पुष १३ गते, बुधबार

काठमाडौँ । संसद सचिवालयका एक कर्मचारी गोप्य कुरा थियो भन्दै मंगलबार दिउँसो प्रवक्ता रोजनाथ पाण्डेको कार्यकक्षमा छिरे । ‘महासचिवसँगै बसेर कुरा गर्न पाए हुन्थ्यो,’ ती कर्मचारीले प्रवक्ता पाण्डेलाई भने । कारण रहेछ, संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको कार्यालय अस्वीकार गरेको । ‘रास्वपाका नेताहरू संसदीय दलको कार्यालय हेर्न आउनुभएको थियो, भएन भन्नुभयो,’ ती कर्मचारीले भने, ‘सानो भएको भन्दै अर्को व्यवस्थापन गर्न भन्नुभएको छ ।’

त्यसपपछि ती कर्मचारी महासचिव डा. भरतराज गौतम र प्रवक्ता पाण्डेलाई गुहार्न पुगेको रहेछन् । रास्वपाका प्रवक्ता डा। मुकुल ढकालसहितको टोली सिंहदरबारस्थित संसदीय दलको कार्यालय हेर्न पुगेको थियो । रास्वपाले आफ्नो हैसियतअनुसार कार्यालय नभएको भन्दै अर्को कार्यालय व्यवस्थापन गर्न भनेको हो ।

सिंहदरबारस्थित पुनर्निर्माण प्रधिकरण र हेलो सरकार रहेको भवनमा नयाँ दलहरूका लागि संसद सचिवालयले कार्यालयको व्यवस्थापन गरिएको छ । उक्त भवनमा रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूको कार्यालय राखिएको छ । संसद सचिवालयले पुराना दलहरूको लागि यसअघि प्रयोग गरिएकै कार्यालयमा व्यवस्थापन गरेको छ ।

आफ्नोभन्दा थोरै सिट रहेको पार्टीलाई छुट्टै भवन र कर्मचारी दिएको तर चौथो शक्तिलाई भवनसँगै कर्मचारी पनि संयुक्त राखेको रास्वपाको गुनासो छ । संसदको छैटौँ दल बनेको जनता समाजवादीको छुट्टै कार्यालय र कर्मचारी छन् । यसमा रास्वपाले आपत्ति जनाएको हो । प्रतिनिधिसभामा रास्वपाका २० र जसपाका १२ सांसद छन् ।

‘सानो दललाई छुट्टै भवन र कर्मचारी दिइएको छ । हाम्रो भवन र कर्मचारी पनि संयुक्त छ,’ रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले भने, ‘नयाँ जनादेशले हैसियत परिवर्तन भएको छ ।’ कुन पार्टीलाई कसरी राखिएको छ भन्नेले राजनतिक अर्थ राख्ने उनी बताउँछन् । ‘देख्दा सामान्य लाग्छ तर राजनीतिक अर्थ हुन्छ,’ उनले भने ।

सिट संख्या हेरर कार्यालय व्यवस्थापन गरिएको संसद सचिवालयले जनाएको छ । ‘सरकारबाट प्रप्त भएको भवनमा सिट संख्या हेरेर व्यवस्थापन गरिएको हो,’ महासचिव भरतराज गौतमले भने, ‘हाम्रोतर्फबाट कार्यालय व्यउवस्थापनको काम पूरा भएको छ ।’ सबैको सुझावको आधारमा कार्यालय थपघट गरिने उनले बताए । ‘सुझावहरू लिएर संसद सचिवालयले कार्यालय थपघट गर्छ,’ उनले भने ।

नयाँ दलका लागि बनाइएको संसदीय दलको कार्यालयमा एटएज बाथरुमदेखि एसीसम्मको व्यवस्था गरिएको छ । संसद सचिवालयले १२ वटा दल र स्वतन्त्र जितेका ५ सांसदसमेतलाई कार्यालयको व्यवस्थापन गरिसकेको छ । संसदमा यसपटक कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा र राष्ट्रय स्वतन्त्र पार्टीले प्रतिनिधित्व गरेका छन् ।

प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार


Scroll to Top

Janata Media