को हुन् महान् फुटबलर पेले ?

जनता संवाददाता
२०७९ पुष १५ गते, शुक्रबार

पेले अर्थात फुटबलका जादुगर अब सम्झनामा मात्रै रहने छन् । तर उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ । उनको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो र आमा सेलेस्त अरान्तेस हुन् । पेलेको बाबू डोन्डिन्हो क्लब लेभलका फुटबल खेल्थे । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । बाबुबाटै फुटबल खेल्ने प्रेरणा पाएका पेले सानैबाट लगनशील थिए ।

पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । सन् १९६६ मा पेले रोसेमेरी दोस रेइस चोल्बीसँग विवाह बन्धनमा बाहिए । तर, यो सम्बन्ध १९८२ मा पुगेर टुट्यो । त्यसको १२ वर्षपछि पेलेले दोस्रो विवाह गरे । तर एसिरिया नास्सिमेन्तोसँग विवाह गरेको १४ वर्षपछि यो सम्बन्ध पनि टिकेन । पेलेले २०१६ मा मार्सिया आयोकीसँग विवाह गरेका थिए । पेलेका सात सन्तान छन् । पेलेले तीन वर्ष खेलकुद मन्त्री भएर पनि काम गरे ।

सर्वाधिक गोलकर्ता
पेलेको नाम थाहा नपाउने मान्छे सायदै कम होला । उनी त्यस्ता खेलाडी हुन् सबैको मन र दिमागमा बसेका छन् । फुटबल पछ्याउनेहरूले पेलेको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको पनि भन्न थालेका छन् ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । कतार विश्वकपमा नेयमारले पेलेको सर्वाधिक ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए ।

तीन विश्वकप जित्ने एक मात्र खेलाडी
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनी मात्रै यस्ता खेलाडी हुन् जसले तीन पटक विश्वकप फुटबलको उपाधि चुमेका छन् ।

स्वीडेनमा भएको १९५८ को विश्वकप ब्राजिलले जित्दा पेलेले मुख्य भूमिका खेले । समूह चरणमा एक गोल पनि नगरेका पेलेकै गोलमा क्वार्टरफाइनलमा ब्राजिलले वेल्सलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा फ्रान्सलाई ५–२ गोलले पराजित गर्दा पेलेले ह्याट्रिक गरे । फाइनलमा स्वीडेनलाई ५–२ गोलले पराजित गर्दा पेलेले दुई गोल गरेका थिए । पेलेले यो विश्वकपमा ६ गोल गरे ।
सन् १९६२ मा ब्राजिलले दोस्रो पटक विश्वकप जित्दा पनि टिममा थिए, पेले । तर यो विश्वकपमा भने उनी आफ्नो क्षमता अनुसार खेल्न सकेनन् । उनले समूह चरणको खेलमा मेक्सिकोविरुद्ध एक गोल गरेका थिए ।

सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जित्दा पेले चम्किए । तेस्रो पटक विश्वकप जित्ने क्रममा फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदा पेलेले एक गोल गरेका थिए । ३० वर्षीय पेलेले त्यो विश्वकपमा चार गोल गरे । चार विश्वकप खेलेका पेलेले विश्वकपमा १२ गोल गरेका छन् ।

सन् १९५६ देखि सान्तोस क्लबबाट व्यवसायिक फुटबल खेलेका पेलेले यो क्लबबाट मात्रै ६४३ गोल गरे । १८ वर्ष सान्तोस एफसीमा क्लब फुटबल खेलेका पेले त्यसपछि १९७५ मा न्यु योर्क कोसमोसमा अनुबन्धित भए । यो क्लबबाट तीन वर्ष फुटबल खेलेका उनले ६६ गोल गरे ।

पेलेले चार पटक विश्वकप फुटबल खेले । जसमा १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई दिलाउँदा १९६६ को विश्वकपमा भने ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १५ गते, शुक्रबार


Scroll to Top

Janata Media