ब्रजिलको सान्तोस रङ्गशालामा पेलेको पार्थिव शरीरमा सार्वजनिक श्रद्धाञ्जली व्यक्त गर्न दिइएको २४ घन्टापछि सान्तोसका सडकमा शवयात्रा निस्किएको छ।
मङ्गलवार उनलाई समाधिस्थ गरिँदैछ।
यसअघि ब्रजिलका नयाँ राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पेलेप्रति सम्मान प्रकट गर्न उनले पहिला फुटबल खेलेको क्लब सान्तोस रङ्गशाला पुगेका थिए।
टेलिभिजनमा देखाइएका दृश्यहरूमा निधन भएका फुटबल खेलाडीको शवपेटिका वरपर जम्मा भएको सानो भिडमा राष्ट्रपति लुला देखिएका थिए।
दशौँ हजार मानिसहरू रातभर पङ्क्तिबद्ध भएर उनलाई अन्तिम सम्मान व्यक्त गर्न बसेका छन् जसक्रममा कतिपयका आँखामा आँसु समेत देखिएको थियो।
उनको क्लबले करिब अढाई लाख मानिसले रङ्गशाला पुगेर श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।
आइतबार भएको राष्ट्रपतिको पदभार ग्रहण समारोहमा ब्रजिललाई तीनपटक विश्वकप जित्न सघाएका खेलाडीको सम्मानमा एक मिनेटको मौन धारण गरिएको थियो।
उनको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो।
“हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रङ्गशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौँ,” श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने।
सान्तोस रङ्गशालामा रहेका उनलाई अन्तिम सम्मान व्यक्त गर्न मानिसहरू पुगिरहँदा त्यहाँ बीबीसी संवाददाता फ्रान्सिस माओ समेत थिइन्।
यहाँ निकै गर्मी छ। तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिए जस्तो देखिन्छ ।
शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
ब्रजिलका सबै भाग मात्रै नभएर विश्वभरिबाट मानिसहरू यहाँ आइपुगेका छन्। मैले मेक्सिकोको झण्डा र द नेदरल्यान्ड्सको ‘पिन’ पनि देखेँ।