सामाजिक सञ्जालमा भाइरल भएपछि मर्मत हुने भयो बाघको ‘सालिक’

जनता संवाददाता
२०७९ पुष २३ गते, शनिबार

सुर्खेत । सुर्खेतस्थित सहिद पार्कमा रहेको बाघको सालिक (मूर्ति) मर्मत गरिने भएको छ । स्वरूप नमिलेको बाघको सालिकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनेपछि यसको स्वरूप फेर्ने तयारी भएको हो ।

सालिक निर्माणको जिम्मा पाएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सह-सचिव अमरबहादुर कार्कीले बाघको सालिकको स्वरूप फेर्ने निर्णय भएको जानकारी दिए । यसका लागि काली गढसँग सम्पर्क भइरहेको र आकर्षक स्वरूपमा सालिक तयार पारिने उनले बताए ।

”स्वरूप नमिलेको महसुस हामीलाई पनि भएकै हो । अझ फेसबुकमा १३ लाखमा बनेको सालिक भनेर प्रचार भएको रहेछ । तर यसका लागि ५० हजारमात्रै खर्च भएको छ,” उनले भने ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शेरबहादुर केसीले पनि सालिक मर्मतका लागि पहल भइसकेको जानकारी दिए । पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चिनिएको पार्कमा पाटेबाघको सालिकको आलोचना भएपछि यसकाे स्वरुप फेर्न लागेको उनले जनाए ।

केही दिनयता यो सालिक विवादित बनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो क्षेत्रमा बनाइएका गाई, भैँसी, सुँगुर, दुम्सी लगायतका मूर्तिको फोटो राखी चर्चामा ल्याउने प्रतिस्पर्धा चलेको छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते, शनिबार


Scroll to Top

Janata Media