जमेको हिउँ पन्छाएपछि हुम्लाको नारा लेक हुँदै जाने हिल्सा सडक सुचारु(भिडियोसहित)

जनता संवाददाता
२०७९ पुष २३ गते, शनिबार

हुम्ला । हुम्लाको सिमकोट हिल्सा सडकखण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको छ। नाम्खा गाउँपालिकाले डोजर लगाएर नारा लेकमा जमेको हिउ पन्छाएपछि यातायात सुचारु भएको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुुसार असोज १९ देखि २४ गतेसम्म नारा लेकमा परेर जमेकोे हिउँ डोजरले पन्छाएर यातायात सुचारु भएको छ। उक्त सडक तीन महिनापछि गाउँपालिकाको प्रयासमा सुचारु भएको हो। तीन किमि सडकमा तीन फिटसम्म जमेको हिउँ डोजरले दुुई दिन लगाएर सफा गरिएको हो।

डोजरबाट हिउँ पन्छाउने कार्यका साथै सडकमा गएको पहिरोसमेत पन्छाएर सडक मर्मत भएको हो। सडकमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएलगत्तै हिल्साबाट सिमकोटका लागि चार वडा बोलेरो जिप र टिपर सामान ढुवानी भएर आउन सफल भएका छन्।

डोजर पनि चिनियाँ पक्षले नाम्खा गाउँपालिकालाई सहयोग दिएको थियो। चीन सरकारबाट सहयोगस्वरूप उपलब्ध भएको डोजर सुुरुमै सडक मर्मत तथा हिउँ पन्छाउने कार्यमा प्रयोग भएको छ। अब फेरि हिउँ नपर्दासम्म यातायात सुचारु हुनेछन्। हिउँ परे पनि डोजर भएका कारण सडकमा जमेको हिउँ पन्छाउन कुनै समस्या नहुने गाउँपालिकाले जनाएको छ।

नारा लेख चार हजार ६ सय मिटर अग्लो स्थानमा छ। वैशाख जेठ महिनासम्म बन्द हुने उक्त सडक पहिलो पटक पुस महिनामा हिउँ पन्छाएर सुुचारु भएको हो। नारामा जमेको हिउ पन्छाउने कार्य भएर यातायात सुचारु भए पनि लिमी जाने न्यालुु लेकको हिउँ फाल्ने कार्य भने हुन सकेको छैन।

यसअघि जनता मिडियामा अत्यधिक जाडोका कारण यारी नाकामा काम गर्न असहज भएको समाचार प्रकाशन भएको थियो ।

भिडियो हेर्नुहोस्:

 

प्रकाशित मिति : २०७९ पुष २३ गते, शनिबार


Scroll to Top

Janata Media