काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको बताए ।
आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै उनले विगत दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको पनि बताए । राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम शुरु गर्न चाहेको भन्दै उनले भने, ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ शुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं ।’
राजनीतिको कमजोरीकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य बनेको, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए । पहिलो कार्यकालमा विभाजित मनोदशा र पार्टीभित्रकै सघर्षमा रुमल्लिन परेको, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आएको उनले स्वीकारे ।
दोस्रो कार्यकालमा संविधान संशोधनमार्फत मधेशलाई विश्वासमा लिने कोशिस गरेको, स्थानीय तह निर्वाचन गरेको, लोडसेडिङ अन्त्य गरेको र राजनीतिक सहमतिको इमान्दार पालना गर्दै सत्ता हस्तान्तरण गरेको उनले सुनाए ।