हुम्ला । ठान बहादुर रोकाया, हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकाया जनतामाझ उच्च मनोबल र दृढ अठोटका साथ काम गर्ने एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभामा लडेका उनी एमालेका दल रावलसँग पराजित भए । त्यस लगत्तै गएको बैशाख ३१ गते भएको स्थानीय निर्वाचनबाट सर्केगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।
उनका विरोधिहरुले प्रदेश सभामा लडेको मान्छे स्थानीय तहमा झर्यो भनेर आलोचना समेत गरे । तर उनले त्यो आलोचनालाई बेवास्ता गर्दै बहुमतका साथ जित हासिल गरे । अबको ५ वर्षको सर्केगाड गाउँपालिकाको भविष्य उनको हातमा छ । उनले कति काम गर्न सक्छन् त्यो समयाक्रम अनुसार देखिँदै जानेछ । शैक्षिक योग्यताका हिसाबले पनि उत्कृष्ट उनि शिक्षण पेसा हुँदै राजनितिमा होमिएका हुन् । उनले सर्केगाडकोे भूगोल राम्रोसँग चिनेका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको ज्ञान उनसँग छ । त्यो ज्ञान व्यवहारमा कत्तिको परिणत गर्न सक्छन् देखिने नै छ ।
सर्केगाड गाउँपालिकाको अबको योजना के छ?, निर्वाचित भईसकेपछि के-के कामको सूरुवात गर्नुभयो?, रोकायाको परिकल्पनाको सर्केगाड गाउँपालिका कस्तो हो? यि र यस्तै विषयवस्तु समेटेर जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले गरेको कुराकानीको सम्पादित अंश:
तपाईँ निर्वाचित भईसकेपछि सर्केगाड गाउँपालिकाले के पायो ?
भर्खरै मात्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सकिएको छ । यो छाटो समयमै गाउँपालिकाले के पायो भन्नु भन्दा पनि अर्थात सबैको चासोको विषय भएतापनि यो बिचमा हामीले सर्केगाड गाउँपालिकालाई कसरी नमुना बनाउने भन्ने सवालमा गाउँपालिकाको प्रोफाइल र आवधिक योजना बनिसकेको छैन । हामीले कुन कुन विकासको सूचकलाई अंगिकार गरेर अगाडि बढ्ने सन्दर्भमा गाउँपालिकाको प्रोफाइल र आवधिक योजना भनेको गाउँपालिकाको ऐना जस्तै हो । यसकारण पनि हामी यो बनाउने तयारीमा छौँ । त्यस लगत्तै आवधिक योजना र गाउँपालिकाको प्रोफाइल अनुरुप काम रफ्तारले अगाडि बढाउने छौँ ।
यसरी काम गर्दा चुनावका बेला जनतामाझ गरेका बाचा पुरा हुन्छन् ?
सर्केगाड गाउँपालिका हुम्ला जिल्लाकै एक यस्तो गाउँपालिका हो, जहाँ कुनै पनि वडामा मोटर बाटो पुग्न सकेको छैन । निर्वाचन ताका जनतामाझ जाँदै गर्दा र भोट माग्दै गर्दा विजय हुनका लागि जनतालाई आश्वासन बाँड्दै गर्दा हामीले जुन बाचा गरेका थियौँ, ति बाचा पुरा गर्नका लागि एक गाउँ एक मोटर बाटोको अवधारणा ल्याएका छौँ । यो अवधारणा पुरा गर्न संघ र प्रदेश सरकारबाट विशेष र समानिकरण बजेट माग गरेर मोटर बाटो बनाउने उद्देश्य लिएका छौँ । आउँदो गाउँ सभाबाट पनि यस विषयलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेको निर्णय गरेका छौँ ।
निर्वाचनमा गठबन्धन गरेर चुनाव जित्नुभयो, अहिले त्यो गठबन्धन फुट्यो । काम गर्न असहज होला नि ?
आशंका सबैमा देखिएको छ । यो खासगरी स्वभाविक पनि हो । यो भन्दै गर्दा, स्थानीय सरकार भनेको एक यस्तो सरकार हो । जो चाँहि जनताका प्रत्यक्ष जन जिविकासँग जोडिएको हुन्छ । त्यसकारण यो सरकारमा प्रमुख प्रतिपक्ष भन्ने नै हुँदैन र हुनु पनि हुँदैन । यसमा हामी सबै सत्तापक्ष हौँ । अध्यक्ष, उपाध्यक्ष छ्ट्टाछ्ट्टै पार्टी भएता पनि जनताको हितका निम्ति गर्ने काममा कुनै मनमुटाव हुँदैन । जनतालाई सुशासन दिने हकमा, विकास निर्माण गर्ने हकमा हामी अध्यक्ष उपाध्यक्ष मात्रै नभएर सम्पूर्ण कार्यपालिकाका सदस्य एक भएर जान्छौँ ।
तपाईँलाई के लाग्छ, सर्केगाड गाउँपालिकाको प्रशासनिक भवन उपयुक्त ठाउँमा छ ?
हामी निर्वाचित भएको १ वर्ष पनि पुगेको छैन । यो भन्दा अघिल्लो सरकारले भवनको लागि अर्को ठाउँमा लगेको छ । त्यो जग्गा अल्लि भिरालो र भवन बनाउँदा खेरी त्यति उपयुक्त र प्रभावकारी नहुने भएकाले सर्केगाड बजारको कर्णाली तिर नजिकै सारिएको हो । यसका क्रममा पनि धेरै विवादहरु आए । ति विवादहरु म र उपाध्यक्षको रोहवरमा सुल्झायौँ । मात्रै यत्ति हो कि पहिले हामी भाडाको घरमा थियौँ, अहिले सरेको मात्रै अवस्था हो । अब काम गर्ने सवालमा कर्णालीको छेउमै भएकाले हिउँदको महिनामा अत्याधिक जाडोका कारण अलिकति असहज हुने गरेको छ । त्यसको लागि वैकल्पिक उपाय अपनाएर भएपनि काम सञ्चालन गर्ने गरेका छौँ ।
आउँदै गरेको हिउँदे गाउँ सभाको लागि सर्केगाड गाउँपालिकाको तयारी कस्तो छ ?
हिउँदे सभा विशेष्गरी ऐन, नियम र कानुनहरु पारित गर्ने सभा हो । हामी अघिल्लो सभाबाट नै बजेट विनियोजन गरेर त्यहिअनुसार कार्यान्वयनका चरणहरुमा अगाडि बढि सकेका छौँ । हिउँदे माघ महिनाको २० गते गर्ने गरी तयारी गरेका छौँ । यसमा विभिन्न किसिमका ऐनहरु निर्माण गर्ने छौँ । केहि पहिला नै पारित भईसकेको अवस्था र केहि छुटेको ऐनहरु निर्माण गरेर अगाडि बढ्ने प्रक्रियामा छौँ ।
तपाईँको परिकल्पनाको सर्केगाड गाउँपालिका कस्तो हो ?
मेरो परिकल्पनाको सर्केगाड ‘एक गाउँ, एक मोटर बाटो’ र ‘एक गाउँ, एक उत्पादन’ नै हो । “शिक्षा, स्वास्थ्य,उद्ययमशिलता र रोजगार, सर्केगाड गाउँपालिकाको आधार” भन्ने मुल नाराका साथ हामी काम गरिरहेका छौँ । छिट्टै यो नारालाई व्यावहारिकतामा परिणत गर्ने लक्ष्य हाम्रो छ । स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर विभिन्न खाले हेल्थ क्याम्पहरु स्थापना गर्ने तयारीमा जुटेका छौँ । हामीले यो समयावधिभित्र विभिन्न कार्य योजनाहरु बनाएका छौँ । ति योजनाहरु कार्यान्वयन गर्ने प्रक्रियामा छौँ । शिक्षाका क्षेत्रमा पनि विशेष खालका योजना बनाएका छौँ । जसमा प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिहेका छौँ । जस अन्तर्गत सर्केगाड गाउँपालिका भित्र रहेका माध्यामिक विद्यालयहरुमा प्राविधिक कक्षा सञ्चालन गर्ने र प्रत्येक विद्यालयलाई प्रविधिसँग जोड्ने, प्रत्येक शिक्षकको हातमा ल्यापटप र विद्यार्थीले प्रत्यक्ष रुपमा कम्प्युटरसँग जोड्ने अर्थात आधुनिक युगको सुरुवात गर्ने योजना लिएका छौँ । मेरो कार्यकालमा सर्केगाड गाउँपालिकालाई प्रविधिमैत्री र डिजिटल बनाउने लक्ष्य लिएका छौँ । हाम्रो पहिलो प्राथमिकतामा 4G टाावर निर्माण गर्नेमा पनि छ । यसका लागि गाउँपालिकाका तर्फबाट आवश्यक बजेट विनियोजन गरेर काम सञ्चालन गरिसकेका छौँ । त्यो छिट्टै निर्माण सम्पन्न गरेर प्रत्येक सरकारी कार्यालय, विद्यालय, सार्वजनिक भवनमा इन्टरनेटको सुविधा बनाउने योजना बनाएका छौँ ।
अन्त्यमा, सर्केगाड गाउँपालिका बासिहरुलाई के सन्देश दिनुहुन्छ ?
हामी निर्वाचित भएको धेरै भएको छैन । स्थानीय सरकारले गर्नुपर्ने के हो भनेर हामीले अनुभुति गरिसकेका छौँ । विभिन्न माध्यमबाट जनताहरुले अहिलेसम्म पनि केहि काम गर्न नसकेको भन्ने खालका गुनाशा गरिसकेका पनि छन् । तर हामी ५ वर्षभित्रमा जनताको जीवनस्तर कसरी माथि उठाउने भनेर लागेका छौँ । प्रत्यक्ष जन जिविकासँग सवाल राख्ने कुरामा हामी कतै पनि चुकेका छैनौँ । कतै कुनै पनि किसिमको समस्या आए तुरुन्तै समाधान गर्ने हाम्रो निति हो । विकासका सूचकहरुलाई कसरी माथि उठाउने भनेर विकासका दृष्टिकोणलाई पनि कसरी लिने अर्थात जनताका सोच, विचार र धारणालाई आत्मसात् गदैँ अगाडि बढेका छौँ । जनतालाई ढुक्क भएर बस्न हार्दिक अनुरोध सहित चुनावका बेला गरेका बाचा पुरा गर्न गाउँपालिकाको टिम उच्च मनोबलका साथ विकास निर्माणका लागि कार्ययोजनाका साथ लागेको विशेष सन्देश दिन चाहन्छु ।