बाजुरामा भूकम्पले एक जनाको मृत्यु

जनता संवाददाता
२०७९ माघ १० गते, मंगलवार

बाजुरा । मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका-२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो।

यसैगरी जिल्लाको गौमुल गाउँपालिका-१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।

घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्।

बाजुरा केन्द्रविन्दु भएर ‍५‍.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १० गते, मंगलवार


Scroll to Top

Janata Media