
काठमाडौं । संयुक्त संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीको सम्बोधन सुनेर बालकोट लाग्नुअघि एमाले अध्यक्ष केपी ओली लोसपा अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो कारमा पस्न सहजीकरण गर्दैै थिए । ठाकुर तिनै नेता हुन्, जसले ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदैगर्दा समर्थन दिएका थिएनन् । विश्वासको मत चाहिँ दिएका थिए ।
ठाकुर गाडीभित्र पसेपछि छिर्नै लागेका ओलीलाई रोकेर सञ्चारकर्मीले सोधे, ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौंको सरकार के होला अध्यक्षज्यु ?’
ओलीले भने, ‘हेर्दैजाउँ ।’
स्पष्टवक्ता ओली आज बानेश्वरमा स्पष्ट सुनिएनन् । उसो त उनले आफूले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने जिकिर नदोहोर्याएका होइनन् । तर बालुवाटार र बालकोटका पछिल्ला बैठकहरु उनले ‘चाहेकै व्यक्ति’ तर्फ लक्षित छैनन् । त्यसको असर उच्चस्तरीय संयन्त्र बैठकमै पर्न गयो । घरि स्थगन, घरि अर्को तिथिमा संयन्त्र अड्केको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका आइनपुगेको कारण देखाउँदै बिहीबार उच्चस्तरीय संयन्त्र बैठक रोकिएको थियो । शुक्रबार उनी केही ढिलोगरी आइपुगे, तर त्यसले कुनै नतिजा दिन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सुषुप्त द्वन्द्व बिस्तार हुँदै जाँदा त्यसको असर संयन्त्रमा पर्न थालेको हो । ओली संयोजक रहेको संयन्त्र बैठकमा रास्वपा सभापति रवि लामिछाने उपस्थित थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सत्ता–बहिर्गमित तिनै लामिछानेलाई देखाउँदै ओलीले प्रधानमन्त्रीलाई भने, ‘उहाँहरु बाहिरिएको प्रोसेस नै त्यत्ति मिलेको जस्तो लाग्दैन प्रधानमन्त्रीजी । पुस १० को सहमति कार्यान्वयन गर्दै फेरि सरकारमा ल्याउनुपर्यो स्वतन्त्र पार्टीलाई ।’
प्रधानमन्त्रीले ओलीलाई ‘हुन्छ’ भन्न सकेनन् । ‘हुन्न’ भन्ने स्थिति नै थिएन । मौनतामै उनले आफूलाई सीमित राखे ।
बैठकपछि एक सहभागी नेताले भने, ‘पहिलेका बैठकमा उहाँहरुको सल्लाह ठ्याक्क मिल्थ्यो । बाहिर छुट्टै सल्लाह गरेर संयन्त्रमा आएजस्तो लाग्थ्यो हामीलाई । अचेल आ–आफ्नै लाइन छ ।’