शैक्षिक जनशक्ति पलायन रोक्नु चुनौती : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०७९ फाल्गुन ९ गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्नु देशका लागि चुनौती भएको बताएका छन् । पोखरा विश्वविद्यालको १८औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले सीपको सदुपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गरी यहीँ बस्न सक्ने वातावरण निर्माण गर्ने भूमिका विद्यार्थीका काँधमा पनि रहेको बताए ।

उनले निर्भीक, निडर र इमानदारीसाथ देशको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्ने कार्यमा हरदम कर्मठ योद्धाझैँ लागि पर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले विश्वबजारमा प्रतिस्पर्धा गरी अब्बल प्रमाणित गर्न चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर मुलुककै प्रतिष्ठा उँचो राख्न विद्यार्थीलाई हौसला प्रदान गरे । उनले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक व्यक्तित्वहरूको सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लिखित लक्ष्य हासिल गर्न सकिने विश्वास लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहेको बताए । उनले संविधानले प्रदान गरेको निःशुल्क शिक्षाको हकलाई व्यवहारमा लागू गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिएको समेत जानकारी दिए । उक्त दीक्षान्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्राडा उमा भारद्वाजले शिक्षाले मात्र मानव जीवनलाई सशक्त र क्रियाशील बनाउने बताए ।

उनले नैतिकवान्, अनुशासित र सिर्जनशील विद्यार्थी नै विश्वबजारमा आवश्यक रहेको बताए । प्राडा भारद्वाजले विश्वबजारमा आएको प्रविधि मानव शिक्षा र मानव बौद्धिक क्षमताको उपलब्धि रहेको बताए ।

त्यसैगरी पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुँदै आएको बताए । उनले विश्वविद्यालयमा कुल ६४ वटा कार्यक्रम सञ्चालन रहेको र कुल ३७ हजार ६४५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

उक्त विश्वविद्यालयबाट सोमबार छ हजार ९९९ विद्यार्थी दीक्षित भएका छन् । जसमा व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक जनालाई कुलपति पदक प्रदान गरिएको छ भने स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोत्कृष्ट अङ्क ल्याउने ११ जना र कुलपति पदक प्राप्त गर्ने एक÷एक जना, विभिन्न विधाका ५७२ जना विद्यार्थीलाई डिनको लिस्टबाट सम्मानित गरिएको छ ।

पोखराको लक्ष्मी हाउसद्वारा स्थापित लक्ष्मी स्वर्ण विद्या पदकबाट व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने सम्झना तिवारीलाई सम्मान गरिएको थियो । त्यसैगरी ओसिम गोल्ड मेडलबाट अनिश लिम्बूलाई सम्मान गरियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार


Scroll to Top

Janata Media