पीएनजीमाथि नेपालको सहज जित, एकदिवसीय विश्वकप छनोटको नजिक

जनता संवाददाता
२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौँ । विश्वकप क्रिकेट लिग टूको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ९ विकेटले हराएको छ ।

९६ रनको लक्ष्य नेपालले मात्र आठौँ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जीतमा आशिफ सेखले नटआउट ५३ र कुशल भुर्तेलले ३३ रन बनाए । आसिफले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । यस्तो कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल १२ रनमा अविजित रहे ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले अब यूएईसँगको खेल जित्नुपर्ने छ । नेपालले यूएईसँग आउँदो बुधबार खेल्नेछ ।

कीर्तिपुरमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पीएनजीलाई ३२ ओभरमा मात्र ९५ रनमा अलआउट गरेको थियो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले दुई दुई विकेट लिए । पीएनजीका चारजना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । पीएनजीका असद भालाले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक भयो ।

सन्दीपले १० ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन खर्चँदा कुशलले ३ ओभरमा १ मेडल राख्दै मात्र ६ रन खर्चे । यस्तै, ७ ओभर बलिङ गरेका ललितले १३ रन र ५ ओभरमा सोमपालले २२ रन खर्चे ।

आज नेपाली टोलीमा गुलशन झाको साटो करण केसी टिममा परेका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते, सोमबार


Scroll to Top

Janata Media