सल्यानमा गोली लागेर एक जनाको मृत्यु

जनता संवाददाता
२०७९ फाल्गुन ३० गते, मंगलवार

सल्यान । सल्यानमा शिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा घाइते भएका चित्र बहादुर घाइते भएका थिए । घाइते रावतको उपचारका लागि सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

बन्दुक र बन्दुक बोकेका आइते रावत फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालको भनाई छ । मृतक चित्र बहादुरको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते, मंगलवार


Scroll to Top

Janata Media