एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : अध्यक्ष ओली

जनता संवाददाता
२०७९ चैत्र २८ गते, मंगलवार

नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउएका छन् । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य हो भने ।

“एमालेले तीन वर्षको अवधिमा आर्थिक विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धन सरकारले आर्थिक अवस्था ध्वस्त बनाएको छ” अध्यक्ष ओलीले राष्ट्र बनाउने सङ्कल्प एमालेमा मात्र रहेको दावी गरे । रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको उनको भनाइ छ ।

युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य तथा युवा सङ्घका इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य निरु पाल, सुर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक वडाल, युवा सङ्घका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेवेलगायतले शुभकामना ब्यक्त गरे ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री दलबहादुर सुनार एमालेमा प्रवेश गरे । सो अवसरमा युवा सङ्घले एकलाख नगद राशीको केपी ओली युवा प्रतिभा पुरस्कार नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते, मंगलवार


Scroll to Top

Janata Media