राष्ट्रपति पौडेलद्धारा ७ सय २८ जनालाई मानपदवी विभूषण प्रदान

जनता संवाददाता
२०८० बैशाख २ गते, शनिबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् । राष्ट्रको गौरव बढाउन योगदान गरेकाहरूलाई सम्मान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।

शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरेका हुन् ।

नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालालाई प्रदान दिइयो । राष्ट्र गौरव राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीलाई प्रदान गरियो । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा। जगमान गुरुङलाई प्रदान गरियो ।

मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० बैशाख २ गते, शनिबार


Scroll to Top

Janata Media