काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली रहने छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू(भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई(तीन दिन अझै लम्बिनेछ।
‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।’
मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।







