मुगु । जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
जिल्लाको पुर्वीक्षेत्रमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ८ सुकाढिकको झुगलामा पहिलो पटक बेली ब्रिज पुल निर्माण भएपछि खत्याड गाउँपालिका पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिमसँग जोडिएको छ । बेली ब्रिज पुल कर्णाली कोरीडोरसँग जोडिए पछि सुदूरपश्चिमबाट गाडी र मोटरसाइकलबाट रारा आउन सकिने भएको हो । स्थानीय अम्मर बहादुर कार्कीले कर्णाली कोरिडोरमा बेली ब्रिज निर्माण हुँदा रारा ताल र खप्तड पर्यटन पदमार्ग जोडिँदा पर्यटनलाई पनि आउजाउ गर्नमा सहजता भएको बताए ।
कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिकाको संयुक्त लगानीमा तीन करोड ५९लाख ९८ हजार २३ रुपियाँ छ पैसामा बेल ब्रिज निर्माण भएको हो । जलप रबी चक्र जेभीले २०७८ मङ्सिर ८ गतेमा पालिकासँग सम्झौता गरेको थियो । गाउँपालिकाका प्रशासकीय अधिकृत दिपबहादुर कार्कीले निर्माण कम्पनीले २०८० साल असार २५ गते भित्र काम सम्पन्न गर्ने पालिकासँग सम्झौता गरेको तर समय अगावै काम सम्पन्न गरेको बताए ।
खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले खत्याड गाउँपालिकासँग कर्णाली कोरिडोर र सुदूरपश्चिमको बाजुरा जिल्लामा जोड्नका लागि गरिएको अथक प्रयास र सङ्घर्षले सार्थकता पाएको बताए । ‘मुगुका र सुदूरपश्चिमका आम नागरिक लाई आउजाउ गर्न देखि व्यापारमा समेत यसले सहजता गराउने,’ शाहीले भने ।
अध्यक्ष शाहीले सुदूरपश्चिमबाट रारा हेर्न आउने आन्तरिक पर्यटकका सहजताका लागि यही आर्थिक वर्ष भित्रमा राराको माझ घट्ट सम्म सडक निर्माण गर्ने लक्ष्य रहेको बताए ।
जिल्लाको सदरमुकामसँग खत्याड गाउँ पालिका सडक सञ्जालमा जोड्नका लागि एक मात्र विकल्प मार्ग रारा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले उक्त निकुञ्ज क्षेत्र भित्र सडक लिनका लागि सङ्घीय सरकारको क्याबिनेटबाट अनुमोदन गर्नुपर्ने भएकाले उक्त कार्यको लागि कागजात सबै सङ्घीय सरकारलाई पेस गरी सकिएको उनको भनाइ छ ।
आयोजना प्रमुख इन्जिनियर दीपक धितालले निर्माण कम्पनीले सम्झौता सम्पन्न गर्ने समय अगाडी नै काम सम्पन्न गर्दा स्थानीयलाई आउजाउ गर्न सहजता मिलेको बताए । उनले भने, ‘नाग्म गमगढी लोगमार्ग भन्दा जिल्लाको सदरमुकाम पुग्नलाई कर्णाली कोरिडोरबाट ६५ किलोमिटर कम भएको छ।’ आयोजना प्रमुखले बेलिबज्र पुलको लम्बाइ ६०।९७ मिटर लम्बाइ रहेको र बेली ब्रिज पुलको भार वान क्षमता २४ टन रहेको उनको भनाइ छ ।
उक्त पुलको बिहीबार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य ऐनबहादुर शाही त्यसै गरी कर्णाली प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री मङ्गलबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्की र अन्तर जिल्ला बाजुराका जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो।







