हुम्लामा चार दलिय सर्वदलिय संयन्त्रको पत्रकार सम्मेलन, विकासमा बाधक नबन्ने प्रतिबद्धता

जनता संवाददाता
२०८० श्रावण १२ गते, शुक्रबार

हुम्ला । हुम्लामा चार दलिय सर्वदलिय संयन्त्रले पत्रकार सम्मेलन गरेको छ । विकास र विचारको राजनीति गरौ भन्ने मुल नाराका साथ राजनीति संस्कार समाजिकीकरण विकास संस्कार र सुशासनको अभिवृद्धिका लागी गठन भएको हो । उक्त सर्वदलिय पत्रकार सम्मेलनमा पत्रकारहरुले जिल्लाको शिक्षा स्वास्थ्य रोजगार विकास खाद्यान्न लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सर्वदलिय संयन्त्रले हुम्ला जिल्लामा पत्रकार सम्मेलन गर्नुको मुलभुत उद्देश्यका बार नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहराले जानकारी गराएका थिए । जिल्लामा मान्यता प्राप्त राजनैतिक दल नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारी उपसभापती बसन्त रोकाया, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डवल रावत सचिव तिर्थराज बोहरा, नेकपा माओवादीका जिल्ला सचिव धर्मराज बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास बहादुर महतले दिएका थिए ।

सर्वदलिय संयन्त्रको संयुक्त विज्ञप्ति हेर्नुहोस्:-


१.परिचयः
आधुनिक युगमा दलीय व्यवस्था लोकतन्त्रको सफलताका लागि आवश्यक छ । यसले सेवा सञ्चालनका साथै जनता र सरकार विच समन्वय कायम गर्छ । वर्तमानमा दलीय पद्धतिको सर्मथन र विरोध समान रुपमा भएको पाईन्छ । यहाँको सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक संरचनालाई गतिशिल बनाउन राजनीतिक दल उपयोगी हुन्छन । वर्तमानमा बहुदलीय पद्धती प्रति जनचाहना बढेको र यसले सबै विचारधाराहरुलाई समन्वय गरी समयानुकुल अगाडी बढ्न सक्ने क्षमता राख्दछ ।

हुम्ला सुन्दर र सम्भावनाले भरीपूर्ण जिल्ला हो । यहाँका राजनीतिक दलको क्षमता, गतिविधि र दुरदृष्टिको आधारमा जिल्लाको विकास, निकास र सु-शासनका साथै राष्ट्रिय राजनीतिमा प्रभाव पर्दछ । जनताको धारणा, विश्वास र मनोवृति के कस्तो बनाउने र बदल्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष दलको भूमिका हुन्छ । समाज आधुनिकीकरणका साथै सहकार्य, सहअस्तित्व, सहमति र सहयोगी राजनीतिक संस्कार हुनुपर्छ ।

लोकतान्त्रिक शासन व्यवस्था र राजनीतिक परिर्वतनहरुमा दलहरुको महत्व छ । राजनीतिक व्यवस्थालाई कार्यरुप दिन र जनमानसमा राजनीतिक चेतना अभिवृद्धि गर्न राजनीतिक दलको त्यतिकै आवश्यकता छ । राजनीतिक संयन्त्रले यसलाई एक मत दिन्छ । विगतमा सर्वदलीय संयन्त्रको अभ्यास विकास, निकास, समन्वय र सहजताको लागि भएको पाईन्छ । वर्तमान अवस्थामा सर्वदलीय संयन्त्र के, किन, कहिले, कसलाई, कसरी भन्ने प्रश्नहरु छन । यसको उद्देश्य र औचित्य स्पष्ट पार्न जरुरी छ ।

२. उद्देश्यः
राजनीतिक संस्कार, सामाजिकीकरण, विकासी संस्कार र सुशासनको अभिवृद्धि गर्ने ।

३ औचित्यः
क). सहमति, समन्वय, सहकार्य, सहअस्तित्व र ससम्मानको राजनीतिक वातावरण सृर्जना गरी भातृत्व र सहिष्णुताको भावना विकास गर्न ।
ख). विकास र सुशासनबारे खबरदारी र पैरवी गर्न ।
ग). आफ्नो राम्रो, अर्काको नराम्रो भन्ने मनोभावना हटाई व्यक्तिगत कामकुरालाई राजनीतिकरण हुनबाट रोक्न ।
घ). प्रतिशोध र प्रतिरोधको राजनीति नगरी प्रतिस्पर्धाको राजनीति गर्न ।
ङ). दल र दलका नेताप्रति आएको वितृष्णा र भ्रम हटाउन ।
च). जिल्लाको शान्ति, सुरक्षा र सेवा प्रवाहमा साथ दिन ।
छ). सरकार र जनता विचको पुल बनी सहजीकरण गर्न ।
ज). डरको होइन, भरको राजनैतिक वातावरण सृर्जना गरी मेलमिलापको नीतिलाई प्राथमिकता दिन ।

४ क्रियाकलापः
क). महिनाको दुई पटक सर्वदलीय बैठक बस्ने ।
ख). विकास, सुशासन र सेवा प्रवाह बारे छलफल, बहस र पैरवी गर्ने ।
ग). जनमानसमा राजनीतिक चेतना अभिवृद्धि गर्न र सकरात्मक धारणा विकास गर्न कार्यक्रमहरु गर्ने ।
घ). स्थानीय स्तरमा सर्वदलीय संयन्त्र बनाउने ।
ङ). जिल्लाको समग्र विकास र निकासको लागि भेला, गोष्ठी, कार्यक्रम आयोजना गर्न सक्ने ।

५. निष्कर्षः
समयानुकुल समाज परिवर्तन गर्न र दलिय भूमिका प्रभावकारी बनाउन आवश्यक छ । हुम्लाको विकास र जनताको सेवाको लागि कुशल नागरिक र असल राजनीतिक दल वनाउनु हाम्रो दायित्व हो । यसमा चुनौती र अवसर भए पनि साझा प्रयासबाट यो कार्य सम्भव छ । सुन्दर र समृद्धशाली हुम्ला निर्माण हाम्रो परिकल्पना र प्रतिवद्धता हो । तसर्थ, सर्वदलीय संयन्त्र वर्तमान आवश्यकता हो ।

प्रकाशित मिति : २०८० श्रावण १२ गते, शुक्रबार


Scroll to Top

Janata Media