काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले, अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको भएको आरोप लगाएका छन् ।
नेकपा एमाले काठमाडौं महानगर कमिटिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले, देश आर्थिक संकटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे ।
‘आर्थिक रुपमा मुलुक संकटमा पर्दा निश्चित व्यापारी घरानाको सम्पत्ति वृद्धि भईरहेको छ। यो कसरी सम्भव छ भने राज्यका नीति गलत बाटोमा छन् । अवैध अर्थतन्त्रको पक्षमा छ ।’ उनले भने ‘यो सरकार जनताको सरकार होईन्, यो सरकार दलाल पुँजीवादीहरुको सरकार हो । यसले अर्थतन्त्रको विकासमा होईन्, व्यापारिक पुँजीवादलाई प्रवद्र्धन गर्ने कुरामा अन्तराष्ट्रिय व्यापारलाई नेपालमा प्रवद्र्धन गर्न ऐजेण्डका रुपमा यो सरकारले भूमिका खेलिरहेको छ । त्यसो हुदाँ आज हाम्रो मुलुक संकटमा छ । ’
उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय हुदाँ हुदैँ पनि सोचे जस्तो परिणाम नआएको बताए ।
उनले भने ‘पार्टी यो मुलुकको सबैभन्दा लाकप्रिय पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । तर हामी विरुद्धको घेराबन्दीका कारणले संसदमा हाम्रो उपस्थिति नेपाली काङ्ग्रेसको भन्दा तल छ । ’
एमालेमाथि अझै पनि चौतर्फी हमला भइरहेको भन्दै उनले अहिलेको सरकारले कुनै पनि हालतमा आफ्नो पार्टी नेतृत्वको सरकारको भन्दा राम्रो काम गर्न नसक्ने ठोकुवा गरे ।
‘हाम्रो विरुद्धमा भएको घेराबन्दी हाम्रो कमजोरी होकि जनता र राष्ट्रियका पक्षमा हामीले गरिरहेका कामहरुका कारणले आफ्नो भविष्यका बारेमा चिन्ता गरिरहेका शक्तिहरुले हाम्रा विरुद्धमा आफ्नो सुरक्षाको लागि गरिएको घेराबन्दी हो भन्ने कुरालाई हामीले विश्लेषण गर्न सक्नु पर्छ । ’
उनले भने ‘अहिलेको सरकारको असफलतासँग नेकपा एमालेलाई जोडेर विश्लेषण गर्ने गरिन्छ । एमाले सरकारमा हुदाँ देश आर्थिक स्तरमा राम्रो थियो । पुँजीगत खर्च गर्ने विषयमा गठबन्धन सरकार कमजोर देखा परेको छ । नेपाल एसियाको सबैभन्दा कमजोर राष्ट्रभित्र परेको छ गठबन्धन सरकारका कारणले । ’