सत्य निरूपण तथा मेलमिलाप विधेयक चाँडै पारित गर्न प्रस्ताव

जनता संवाददाता
२०८० श्रावण १७ गते, बुधबार

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक तत्कालै पारित गर्ने गरी छलफल थालेका छन् ।

कानुन निर्माण गरी सङ्क्रमणकालीन न्याय निरूपणको विषय तत्काल टुङ्ग्याउन सहमत कांग्रेस र माओवादी केन्द्रले संसदीय समितिमा रहेको विधेयक संसद्बाट पारित गरेर शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने गरी छलफल थालेका हुन् । नेपाली कांग्रेसले आयोगको विधेयकका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले दुवै आयोगका विधेयकबारे बेला बेला गम्भीर ढङ्गले छलफल हुँदै आएको र यसलाई कानुनकै रूप दिएर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए ।

उनले भने, “टिआरसी विधेयक समितिमै छ । यो विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्छ भन्ने नै हो । विधेयक पारित हुन केही ढिला हुँदा पदाधिकारी नियुक्ति पनि टुङ्ग्याएर जानुपर्ने हुन्छ । सङ्क्रमणकालीन न्यायका सन्दर्भमा सबै गम्भीर हुनु पर्छ । विधेयक यथाशीघ्र पारित गर्नु पर्छ ।”

विधेयक पारित गर्नु पर्छ :कांग्रेस
कांग्रेस पदाधिकारी बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ऐन निर्माण गरी सङ्क्रमणकालीन न्याय निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु(याउन छलफल भएको बताए । उनले आयोगका विधेयक चाँडै पारित गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक संशोधनको अवस्थामा रहेकाले चाँडै पारित गर्न संसदीय समितिमा रहेका सांसद र पदाधिकारीबिच छलफल भएको बताए ।

उनले नेपालले शान्ति प्रक्रिया सुरु गरेपछि बृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुङ्ग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको विधेयक छलफलका क्रममा रहेको बताए । उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन त्यो ऐन यथाशीघ्र संसद्बाट पारित गर्नुपर्छ ।”

सञ्चार समितिको निर्णय
यसैबिच कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागले नेपाली कांग्रेस सूचना, सञ्चार तथा सञ्चार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय सदस्य एवं विभागका प्रमुख विश्वकर्माका अनुसार विभागले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णय भएको छ । उनले विभागका प्रमुख एवं सदस्यहरूबिच सूचना प्रविधिसम्बन्धी पुनर्ताजगी कार्यक्रम गर्ने र सोको मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय भएको बताए ।

उनले नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउन्ट खोल्न आग्रह गर्ने निर्णय गरिएको बताए । उनले लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी सङ्कलन गर्ने निर्णय भएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ

प्रकाशित मिति : २०८० श्रावण १७ गते, बुधबार


Scroll to Top

Janata Media