वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं रकम ठगी गर्ने चार जना पक्राउ

जनता संवाददाता
२०८० भाद्र ११ गते, सोमबार

काठमाडौं ।  वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई कठमाडौं टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेका   छन् ।

उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाडौं सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते, सोमबार


Scroll to Top

Janata Media