
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् ।
बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो। उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गन आग्रह गरे।
उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न आग्रह गरे। प्रमुख साहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुसी भएको बताए।
उनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। काठमाडौँ महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए।
‘‘नगर प्रहरी बलले बुद्धि–विवेक पुर्याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुराउनुहोला। संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भइदिनु होला। हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो भइदिनु होला। इमान्दार त सधैँ हुनु नै पर्नेछ। यसरी नै बितेको वर्षमा तपाईँहरूले काम गर्नुभएको छ। त्यसको लागि म लगायत हामी सबै जनप्रतिनिधिहरू धेरै नै खुसी छौँ’’, प्रमुख साहले भने, ‘‘हाम्रो नगर प्रहरी बलले कुनैपनि नातावाद, कृपावाद र कुनैपनि राजनीतिक दबाब बिना काम गरिरहेको छ।
सुशासनको लागि कुनैपनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआईकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो सहरमा सुशासन ल्याउन सफल हुन्छौँ। यहाँहरूले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ। सहकार्यमा काम गर्नसक्छौँ।’’
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआईकन काम गर्न सकेमा सहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रहसमेत गरे।