कोहली र केएलको अगाडी निरिह बन्यो पाकिस्तान, पाकिस्तानले पायो ३५७ रनको लक्ष्य

जनता संवाददाता
२०८० भाद्र २५ गते, सोमबार

काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।

आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।

कोहलीको यो ४७औं एकदिवसीय शतक हो।

कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो।

त्यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४।१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो।

आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।

सोमबार भारतका लागि कोहली र राहुलले २४।१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।

प्रकाशित मिति : २०८० भाद्र २५ गते, सोमबार


Scroll to Top

Janata Media