खुकुरी प्रहारबाट हत्या गरी फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

जनता संवाददाता
२०८० आश्विन ७ गते, आईतवार

भोजपुर । हत्या गरेर फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३४ बर्ष पछि पक्राउ गरी कानुनी प्रक्रिया सुरु गरेको छ । राईलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरिएको छ ।

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५, का चक्रबहादुर राईलाई हत्या गरी फरार रहेको ३४ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिप राज पाठकले बताए । २७ वर्षको उमेरमा चक्रबहादुरले सोही वडाका २६ वर्षीय बद्री कुमार राईलाई घरेलु हतियार खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हात समेत छिनाएर फरार रहेका थिए । बद्रीको उपचारकोक्रममा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको थियो ।

२०४६ साल कार्तिक १७ गते राईले रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरेको प्रहरी प्रमुख पाठकले जानकारी दिए ।

उनीसँगै हत्यामा संलग्न रहेका अन्य तीन जनाको पनि प्रहरीले खोजी कार्य जारी राखेको छ । २०४६ साल कार्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धान सहित सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते निज प्रतिवादीहरूलाई अदालतबाट जन्म कैदको फैसला भएको प्रहरी प्रमुख पाठकले जानकारी दिए ।

प्रहरी प्रमुख पाठकले भने, “जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले लुकेको अवस्थामा सुनसरीबाट प्रतिवादी पक्राउ गरेको छ, यो प्रहरीका लागि सफलता हो ।” समुदायस्तरमा हुने आपराधिक घटनाहरू नियन्त्रण र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी सधैँ सक्रिय हुने प्रहरी प्रमुख पाठकको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका चक्र बहादुरलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराउने प्रहरी प्रमुख डिएसपी पाठकले बताए ।

प्रकाशित मिति : २०८० आश्विन ७ गते, आईतवार


Scroll to Top

Janata Media