त्रिकोणात्मक टी-ट्वाटी क्रिकेट: युएईसँग नेपाल पराजित

जनता संवाददाता
२०८० कार्तिक १० गते, शुक्रबार

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपालले पहिलो खेलमा युएईलाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा हङ्कङलाई ६ विकेट पराजित गरेको थियो ।

त्यस्तै नेपालले पुनः तेस्रो खेलमा हङ्कङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । यता युएईले भने एक खेल मात्रै जितेको थियो । हङ्कङलाई नेट रन रेटले पछि पार्दै युएई फाइनलमा पुगेको थियो । युएईले पहिलो खेलमा हङ्कङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङ्कङसँग ६९ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपालले दिएको १६३ रनको लक्ष्यलाई युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४५ रनको योगदान दिए । उनले २२ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्ध शतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते, शुक्रबार


Scroll to Top

Janata Media