काठमाडौँ । जाजरकोटका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले दुई लाख सहयोग घोषणा गरेको छ । देश तथा विदेशबाट भूकम्पपीडितलाई सहयोग घोषणा भईरहेका बेला गाउँपालिकाले पनि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको फेसबुकमा स्टाटस राख्दै उक्त जानकारी दिइएको हो । फेसबुकमा लेखिएको छ, “२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुलाई तत्काल राहत पुग्ने गरि सिमकोट गाउँपालिकाबाट रु. २,००,००० (अक्षरेपी दुई लाख रुपैयाँ) सहयोग गर्ने निर्णय भएको छ । भूकम्पमा परी मृत्यु हुनेहरुको मृतआत्माको चीरशान्ति र शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ । साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । यस दुखद् घडीमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सरकारी एवं गैरसरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संगठन र राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रलाई भौतिक, आर्थिक र मानवीय सहयोगका लागि हार्दिक अपिल समेत गर्दछौँ ।”
गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला रोकाया र अन्य कार्यपालिका सदस्यहरु बसेको अनौपचारिक बैठकले पीडितलाई राहत सामग्री खरिद गर्नका लागि नगद रकम जिल्ला प्रशासनमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।







