हुम्लामा खाना पकाउने ग्यासको मूल्य घट्यो

जनता संवाददाता
२०८० मंसिर ४ गते, सोमबार

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो ।

मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताए । उनले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताए ।

त्यसै गरी पुरानो सिलिन्डर साट्ने हो भने प्रतिसिलिन्डर ग्यास भरेपछि चार हजार पाँच सय रुपियाँ लाग्ने गरेको छ । यसअघि पुरानो सिलिन्डर भरेको मात्र पाँच हजार पाँच सय रुपियाँ लाग्ने गथ्र्यो । यो मूल्य सदरमुकाम सिमकोटमा हो । सिमकोटमा मात्र पाँच वटा ग्यास बिक्रेता रहेका छन् । उनले यसरी खाना पकाउने ग्यासको मूल्य एक्कासि घट्नुमा सडक सञ्जाल उत्तरी हुम्लातर्फ जोडिँदै आउनु र अर्कोतर्फ ग्यास बिक्रेता व्यापारीको सङ्ख्या बढ्दै जानु, प्रतिस्पर्धात्मक बजारका कारण रहेको बताए ।

राष्ट्रिय सडक सञ्जाल जोडिएको सर्केगाड गाउँपालिकाको सलीसल्लामा भने नयाँ सिलिन्डर तीन हजार पाँच सय रुपियाँ पर्छ भने पुरानो सिलिन्डर भरेको भने दुई हजार पाँच सय रुपियाँ मात्र पर्ने गर्छ ।

सलीसल्लाभन्दा माथि भने पैदल दुरी हेरेर मूल्य निर्धारण गरिएको छ । खाना पकाउने ग्यासको मूल्य घटेसँगै यसको प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या वृद्धि भइरहेको बताउँदै रावतले हाल हुम्ला जिल्लामा तीन हजार पाँच सय घरधुरीले खाना पकाउने ग्यासको प्रयोग गरिरहेको बताउनुभयो । जिल्लाका अधिकांश होटेलले पनि ग्यासको प्रयोग गर्दै आएका छन् ।

हुम्लामा १२ हजार घरधुरी रहेको छ । पहिलो पटक हुम्ला जिल्लामा ग्यास भित्रिँदा त्यसको मूल्य प्रतिसिलिन्डर चौध हजारसम्म परेको थियो । त्यसयता मूल्य भने बारम्बार घट्दो क्रममा रहेको छ ।

 

प्रकाशित मिति : २०८० मंसिर ४ गते, सोमबार


Scroll to Top

Janata Media