योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाको रिहाइ माग
काठमाडौँ । पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन चल्न रोकेको छ। नेकपा (एमाले)का सचिव एवं सङ्घीय सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले चक्काजाम गरेका हुन्।
उक्त समुहले झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि अवरोध पुर्याएको छ । केही पहिचानवादीहरूले झापाबाट इलामतर्फ जान लागेका सवारीसाधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
अवरोधका बीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाइरहेको उनको भनाइ छ । यता प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीका अनुसार लोकल गाडीहरूलाई चल्न दिएको तर इलाम, ताप्लेजुङतर्फ जाने सवारीसाधनका चालकलाई नजान सम्झाइबुझाइ गरिरहेको बताए ।पूर्वी पहाडी क्षेत्रमा पनि पहिचानवादीहरूले मंगलबार यातायात अवरुद्ध पारेको जनाइएको छ । बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।
सात–आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका थिए । त्यस क्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् । उनीहरूलाई बिना सर्त रिहाइको माग राखेर पहिचानवादीहरू चक्काजाममा उत्रिएका हुन् ।







