रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, नौ घाइते

जनता संवाददाता
२०८० पुष ५ गते, बिहीबार

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधवार राति करिब सवा दश बजे भूकम्प पीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडा नम्वर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का ४६ वर्षीय लोकबहादुर शाही र उहाँको ४२ वर्षीया श्रीमती चुकी शाही, सोही गाउँका ५२ वर्षीया भर्दर सार्की, वडा नम्बर ८ बस्ने ४८ वर्षीया धनराम सार्की र ४७ बर्षीया निर्मला सार्की रहेका छन् । मृतकहरूको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते हुनेहरूमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ निवासी ४१ वर्षीय खड्क बहादुर पुन, १४ वर्षीय दलबहादुर पुन, ४५ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की रहेका छन् । त्यसै गरी वडा नम्बर ८ कै ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन दुर्घटनामा परेर घाइते भएका छन् ।

प्रकाशित मिति : २०८० पुष ५ गते, बिहीबार


Scroll to Top

Janata Media