कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु

जनता संवाददाता
२०८० पुष १० गते, मंगलवार

काठमाडौँ । पोखरामा मङ्गलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भएका नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कारका चालक फरार छन् भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अगाडि पोखराको लेखनाथमा भएको कारको ठक्करले स्कुटरसवार दुई युवतीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० पुष १० गते, मंगलवार


Scroll to Top

Janata Media