उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

जनता संवाददाता
२०८० पुष २१ गते, शनिबार

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गर्नुभएको छ । शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपसचिव युगाङसहित चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति यादवसँग भेटवार्ता गरे ।

भेटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबिच दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गर्नु गरे । ‘‘हाम्रा दुई मुलुकहरूले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठुलो महत्त्व दिएका छन्,’’ राष्ट्रपतिले भने ।

उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा सहकार्यका क्षेत्रमा थप विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरे ।

‘‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देश (एलडीसी) को श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र हाल हामीले कोभिड पश्चात् आर्थिक पुनर्स्थापनामा जोड दिएको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु’’ उनले भने, ‘‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरू छन् भन्ने लाग्दछ ।’’

यसैगरी, उपसचिव युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउनुहुँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताए ।

‘‘नेपाल र चीनबिच प्राचिनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान् गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाल र चीनबिच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबिच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरू बढी हुने गरेको छ ।’’

उहाँले नेपाल, चीनको सबैभन्दा नजिकको छिमेकी मित्र राष्ट्र भएको जनाउनुहुँदै छिमेकीसँगको सम्बन्ध राम्रो हुनु पर्ने बताए । ‘‘आफू मात्रै खुसी भएर हुँदैन, छिमेकी पनि खुसी हुनुपर्दछ । छिमेकीसँग जीवनमरणको सम्बन्ध हुनुपर्दछ, यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउँदछ ।,’’ महामहिम युगाङले भन्नुभयो, ‘‘हामी मान्छे–मान्छेसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौ । अगामी दिनहरूमा हाम्रो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गर्दछु ।’’

प्रकाशित मिति : २०८० पुष २१ गते, शनिबार