विश्व शान्तिको नेतृत्व लिन सुझाव

जनता संवाददाता
२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौँ, । शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमा शान्ति सैनिक पठाउन विश्वकै पहिलो मुलुक भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो शान्ति सम्पदा पनि नेपालमै रहेको, १० बर्से सशस्त्र द्वन्द्वको पनि आफ्नै पहलमा टुङ्ग्याएर नमुना प्रस्तुत गर्नु शान्तिप्रियताको अर्को सूचक रहेको विज्ञहरूको भनाइ छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस) ले ललितपुरमा आयोजना गरेको नयाँ बहुधु्रवीय विश्वमा शान्ति स्थापनामा नेपालको सम्भावना विषयक अन्तर्क्रियामा विज्ञहरूले यस्तो धारणा प्रस्तुत गरे ।

संयुक्त राष्ट्रसङ्घका लागि दिगो शान्ति तथा विकाससम्बन्धी सल्लाहकार सिन्थिया पेट्रियाजले सन् १९५८ देखि विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउँदै अहिले पहिलो योगदानकर्ताका रूपमा उभिनु नेपाल र विश्वकै लागि गर्वको विषय रहेको औँल्याए । यसबाहेक नेपालले सङ्घका विभिन्न समिति र पदहरूमा आफ्नो नेतृत्वको दायरा बढाउँदै जानु अर्को राम्रो पक्ष रहेको प्रस्ट्याउँदै उनले भने, “नेपालले आफ्ना सफलताका कथा विश्वलाई सुनाउनु आवश्यक छ, अनि कसरी नेपालले आफैँ द्वन्द्वको समाधान ग¥यो भनेर बताउनु आवश्यक छ ।”

अरूको मर्म बुझ्न सक्ने र सम्झाउन सक्ने मानवीय क्षमता नेपालीमा रहेको प्राध्यापक मीना वैद्य मल्लले बताए । उनका अनुसार विश्वका करिब दुई सय देशमध्ये ३० देश अहिले युद्धमा होमिएका छन् । ती देशका सातमध्ये छ जना मानिसले आफूलाई असुरक्षित महसुस गर्छन् भने दुई अर्बभन्दा बढी मानिस द्वन्द्वबाट प्रभावित छन् ।

संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरण मामिला हेर्ने क्षेत्रीय निर्देशक दिपायन बासु रेले विश्व शान्तिमा नेपालले चार किसिमबाट नेतृत्व लिन सक्ने औँल्याए । नेपालका विश्व शान्तिका बहसमा द्वन्द्वरत मुलुक तथा अन्य मुलुकबिच छलफल गराएर, वैश्विक चुनौतीबारे आपसी सहकार्य गरेर, आफ्ना सफलता अभिव्यक्त गरेर र नियम बनाउने स्तरमा हैसियतको विकास गरेर विश्व नेतृत्व लिन सक्ने बासुले प्रस्ट पारे ।

संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० का नेपाल प्रतिनिधि मिचेल क्रफ्टले विश्व शान्तिको नेतृत्व लिन नेपालले रणनीतिक रूपमा आफ्ना सफलताको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी पर्यटकीय स्थल मात्र होइन । विश्व शान्तिको आस्थाको धरोहर हो । अहिले इजरायल र प्यालेस्टाइनको द्वन्द्वको समाधान लुम्बिनीबाटै खोज्न सकिने सम्भावनालाई मनन गर्न उनले सुझाए।

नेपालको शान्ति प्रक्रियाको समाधानको उपाय विश्वकै लागि नवीन भएकाले त्यस माध्यमबाट नेपालले विश्वमा थप उचाइको यात्रामा जान सकिनेमा दुई मत नरहेको धारणा नाइसका रिसर्च निर्देशक डा। प्रमोद जैसवालले राखे ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार नेपाल गत महिनादेखि विश्वमा शान्ति सैनिक योगदानकर्ताको पहिलो नम्बरको योगदानकर्तामा सूचीकृत भएको हो । नेपालले नेपाली सेना, नेपाल प्रहरीमार्फत कुल छ हजार २४७ शान्ति सैनिक विश्व शान्ति स्थापनाका लागि खटाइएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते, बिहीबार


Scroll to Top

Janata Media