मुख्यमन्त्रि रोजगारको झण्डै १८ लाख रुपैँया झ्वाम्, ३ वर्षदेखि कामदारले पारिश्रमिक पाएनन्

जनता संवाददाता
२०८० फाल्गुन २१ गते, सोमबार

हुम्ला । करिब ३ वर्ष अगाडी हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ मा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रि रोजगार अन्तर्गतको कार्यक्रममा करिब ३०० मिटर लम्बाई र २.५ मिटर चौडाई भएको गोरेटो बाटो निर्माण भयो । उक्त गोरेटो बाटो निर्माणका १ नं वडाका २०० घरधुरीमध्ये प्रत्येकले ८/८ दिन काम गरे । तर काम गरेको तिन वर्ष बितिसक्दा पनि कामदारले अहिलेसम्म पारिश्रमिक पाएका छैनन् ।

उक्त गोरेटो बाटो निर्माणको काम सम्पन्न भएसँगै उपभोक्ता समितिको खातामा १७ लाख ३३ हजार ५ सय पच्पन्न रुपिँया भूक्तानी भयो । तर यसरी समितिको खातामा लाखौँ रकम भूक्तानी भईसक्दा पनि कामदारले पारिश्रमिक पाएनन् । यसको विषयमा बुझ्दै जाँदा कामदारले काम गरेभन्दा धेरै रकम कागजात मिलाएर अर्थात अकैँ बाटो देखाएर भूक्तानी भएको देखियो ।

कामदारलाई एक दिनको ६०० का दरले वितरण गर्यो भने झण्डै १० लाख रुपैँया मात्रै खर्च हुने र बाँकी ७ लाख ३३ हजार ५ सय पच्पन्न रुपैँया बच्ने देखियो । त्यसपछि यो रकममा यहाँको स्थानीय सरकारदेखि राजनितिक दलहरुको आँखा लाग्यो । उपभोक्ता समितिका अध्यक्ष मेल बहादुर दानीबाट यो रकम फुत्काउनका लागि विभिन्न पार्टीगत बैठकमा बोलाईयो । ति बैठकहरुमा दानीलाई दबाब दिएर उक्त रकम दिन लगाइयो र मौखिक सहमति समेत गर्न लगाईयो ।

यसरी विभिन्न पार्टीगत बैठकमा बोलाई रकम दिन दबाब दिइसकेपछि उपभोक्ता समितिका अध्यक्ष मेल बहादुर दानीबाट सम्बन्धित वडा अर्थात् हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ का वडाध्यक्ष अके महतारालाई ३ लाख रुपैँया लिए । तर वडाध्यक्ष महताराले रकम लिएको भरपाई सम्म पनि बनाई दिएनन् । त्यस्तै वडा नं १ कै स्थानीय मान बहादुर थापाले पनि ३ लाख रुपिँया लिए तर उनले पनि उक्त रकम लिएको भरपाई बनाई दिएनन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष मेल बहादुर दानी

आफुलाई एकदमै रुपिँया दिन दबाब पारिसकेपछि रुपिँया दिनु बाहेक अरु विकल्प नरहेको र आफूलाई उनीहरुबाट धम्कीसमेत आएको उपभोक्ता समितिका अध्यक्ष मेल बहादुर दानीले बताए । ‘पैसा दिन भनेर मलाई बेला बेला बैठकमा बोलाउँथे । बैठकमा मैँले, जनताको पैसा दिन्न भनेपछि दबाब पनि दिन्थे । त्यसपछि मसँग पैसा दिने बाहेक अरु विकल्प रहेन । ३ लाख वडाध्यक्ष अके महतारा र ३ लाख मान बहादुर थापालाई दिँए । उनीहरु दुवै जनाले भरपाई बनाउन मानेनन् । अहिले मसँग बाँकी ११ लाख ३३ हजार ५ सय पच्पन्न रुपिँया छ । उनीहरु दुई जनाले रुपिँया फिर्ता गर्ने बित्तिकै कामदारलाई बाँड्छु ।’ जनता मिडियासँग उनले भने ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ का वडाध्यक्ष अके महतारा

यो विषयमा वडाध्यक्ष अके महताराले आफूले बाल शिक्षाको भवन बनाउनका लागि लिएको तर रकम लिएपछि भरपाई बनाउनमा चुकेको स्वीकारेका छन् । ‘मैँले वडामै बन्दै गरेको बाल शिक्षाको भवनका लागि रकम नपुगेपछि ३ लाख रुपिँया लिएको हुँ । मेरो व्यक्तिगत प्रयोजनका लागि लिएको होईन् । तर पैसा लिनेबेला भरपाई बनाउनु पथ्र्यो त्यसमा चुकेकै हुँ । अहिले पनि भरपाई बनाउन तयार छ ।’ जनता मिडियासँग उनले भने ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मान बहादुर थापा

यो विषयमा मान बहादुर थापाले आफू २०७३ को खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमको उपभोक्ता समिति भएको बेला घाटा लागेको र त्यही हिसाब किताब मिलाउन उक्त रकम लिएको बताए । ‘खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम २०७३ को समिति थिँए । त्यसमा काम गर्दा हामीलाई सरकारले पुरै रकम भूक्तानी गरेको थिएन । त्यसकारण त्यही रकम मिलाउनका लागि ३ लाख रुपिँया लिँए । पैसा लिने बेला भरपाई बनाएनौँ । अब भरपाई बनाउन तयार छु । अनि रकम फिर्ता गर्नुपर्छ भनेपनि गर्न तयार छु ।’ जनता मिडियासँग उनले भने ।

यसरी एउटा योजनामा आएको रकम अर्को योजनामा काम गर्दा घाटा लाग्यो भनेर पैसा लिनु सरासर कमिशन माग्नु हो । जनताले आफ्नो पसिनाको मुल्य पाउनुपर्ने रकम उल्टै नेताहरुले कुम्ल्याउनु कामदारको पसिनाको मुल्यमाथिको खेलवाड हो । मान बहादुर थापा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, सोमबार


Scroll to Top

Janata Media