काठमाडौँ । पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
बारा जिल्ला कलैया उप महानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउँदै विवाह भाँडेर फर्केका थिए ।
विवाह नगरी फर्किन लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको र पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।
पर्सा प्रहरीका अनुसार बेहुला २८ वर्षीय उमेश साह गोढ, बेहुलाका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, बेहुलाका दाइ ४२ वर्षीय राकेशकुमार साह र ४० वर्षीय मुकेश कुमार साह र बेहुलाका भिनाजु बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय रामएकवाल साह उपर कारवाही अगाडि बढाइएको हो । प्रहरीले गएराती २ बजे पाँचैजनालाई विवाह समारोह स्थलबाटै नियन्त्रणमा लिएको थियो ।







