कांग्रेसलाई गृहमन्त्री लामिछानेको जवाफ– ‘४ वर्ष संसद अवरुद्ध गर्नुस्’

जनता संवाददाता
२०८० चैत्र ६ गते, मंगलवार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बाँकी रहेको चार वर्ष नै संसद अवरुद्ध गर्न चेतावनी दिएका छन् ।

आफूमाथि कांग्रेसले निरन्तर आवाज उठाएपछि गृहमन्त्री लामिछानेले आफूहरुले काम गरिरहेको बताउँदै कांग्रेसले संसद अवरुद्ध गरिरहे पनि केही फरक नपर्ने तर्क दिए ।

आज बसेको प्रतिनिधि सभा बैठकपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् । अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्नेरु सुशासनको कुरा गर्नेरु चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले ।’

सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले संसदमा निरन्तर आवाज उठाउँदै आइरहेको छ सोही सन्दर्भमा बोल्दै गृहमन्त्री लामिछानेले एउटा ठाडो उजुरीकै आधारमा संसद अवरुद्ध गर्नेदेखि समिति बनाउने कुराको कुनै औचित्य नरहेको बताए ।

‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु,’ लामिछानेले पत्रकारहरुसँग भने, ‘हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन्।’

लामिछानेको विरुद्धमा संसदमा निरन्तर कांग्रेसले आवाज उठाएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लामिछाने दोषी नरहेको स्पष्टीकरण समेत दिएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते, मंगलवार


Scroll to Top

Janata Media