जोखिमपूर्ण काममा महिला कामदार

जनता संवाददाता
२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौं । गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन् । महिला र पुरुषले एउटै कामबाट समान ज्याला पाउन थालेपछि यस्ता काममा महिला देखिएका हुन् ।

कर्णाली करिडोरको छारे खण्डमा नेपाली सेनाले गर्दै आएको सडक निर्माणको काममा सक्रिय जौमती बुढाले हिक्मतका साथ काम गर्दा सहजता भइरहेको बताए ।

उनले जहिल्यै पनि महिला कमजोर भन्ने मानसिकता रहेकोमा त्यसलाई चिर्दै आफू चट्टान विस्फोटका लागि ड्रिल मेसिनले होल खोप्ने काम गरिरहेको बताए ।

सोही भीरमा काम गर्दै आउनुभएकी पञ्चा रोकायाले काम गरे सकिन्छ भन्ने कुरा आफूले प्रमाणित गरेको बताए ।

उनले श्रीमानले जस्तै ड्रिल मेसिन चलाउनेदेखि चट्टान फुटाउने काम गर्दै आएका छन् । उनले आफूसँग काम गर्ने पुरुषसँग बिहान आठ बजेदेखि बेलुका छ बजेसम्म काम गर्दै आएकी छन् ।

चट्टानी भिरमा पुरुषसँग काम गर्ने महिलाको सङ्ख्या पाँच छ । महिलासँगै काम गर्दै आउनुभएका धनमानसिंह भण्डारीले गरेपछि सकिन्छ भन्ने उदाहरण हाल छारे भिरमा काम गर्दै आएकी महिलामा देखिएको बताए । बेरोजगार हुनु र महिला पुरुषबिच समान ज्याला भएको कारण महिला काममा लागेको उनले बताए । चट्टानी भिरमा सडक निर्माणको जिम्मा सेनाको भए पनि कामदार सबै स्थानीय छन् ।

छारे भिरमा पुरुषसँगै काम गर्दै महिला । तस्बिर : राजन रावत

प्रकाशित मिति : २०८० चैत्र १६ गते, शुक्रबार


Scroll to Top

Janata Media