डढेलो निभाउँदा घाइते भएका सैनिक हेमन्तको मृत्यु

जनता संवाददाता
२०८० चैत्र २७ गते, मंगलवार

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका– ३ मा स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावत हुन्।

डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो ।

उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेका थिएनन् ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते, मंगलवार


Scroll to Top

Janata Media