नेपाली श्रमिकको सपना नैनीतालमा चकनाचुर

जनता संवाददाता
२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ । भारतको नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सडक दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्यान गुमाउने छ जना एउटै गाउँका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु भएका बाँकेका छ जना एउटै वडाका रहेको पुष्टि गरे । उनले भने, “भारतमा भएको दुर्घटनाका सन्दर्भमा बुझ्न प्रहरी टोली पठाउँदा एउटै वडाका छ जनाको मृत्यु भएको पुष्टि भयो ।”

उहाँका अनुसार मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका वडा नं. ८ स्थित थपुवा र फत्तेपुर गाउँका रहेका छन् । दुर्घटनामा परी उदयराम थारू चौधरी, विश्राम थारू, तिलकराम थारू चौधरी, अन्तराम चौधरी, विनोद थारू चौधरी र धीरज थारू चौधरीको मृत्यु भएको हो । दुर्घटनामा शान्ति चौधरी र छोटु चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा बारबर्दिया नगरपालिकाका टोपबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा हर्क दमाई र प्रेम बुढा पनि घाइते भएको प्रहरीको भनाइ छ ।

भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्ला बेतालघाटमा भएको दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको हो । युके ०४ सिसी ०९४५ नम्बरको बोलेरो भिरबाट दुई सय मिटर तल खसेको थियो । राजु नाम गरेका भारतीय नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । ग्रुप लिडर शेरबहादुर सकुशल रहेको बताइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भारतीय प्रशासनसँग समन्वय गरिरहेको बताए । मृतक र घाइते नेपाली श्रमिक हुन् । उनीहरू घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार


Scroll to Top

Janata Media