झापामा दुवै दारा काटिएको मृत हात्ती फेला

जनता संवाददाता
२०८१ बैशाख ५ गते, बुधबार

काठमाडौं । झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएको हुनसक्ने वन प्रमुख राईले बताए । दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वन प्रमुख राईले बताए ।

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको राईले बताए । यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ५ गते, बुधबार


Scroll to Top

Janata Media