सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन

जनता संवाददाता
२०८१ बैशाख २० गते, बिहीबार

नवलपुर । पक्राउ पूर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।

पक्राउ गर्न प्रहरी परिचालन गरे पनि अहिलेसम्म सांसद बस्नेतलाई पक्राउ गर्न नसकिएको नवलपुर प्रहरीले जनाएको छ । ‘पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ, तर अहिलेसम्म पक्रन सकिएको छैन, नवलपुर प्रहरी स्रोतले भन्यो । पक्राउ पूर्जी जारी हुनेवित्तिकै बस्नेत फरार भएको प्रहरीको भनाइ छ ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । भाग्न सक्ने आशंकामा पक्राउ पूर्जी जारी गरिएका अन्य १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानविन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको हो ।

बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवरपुरको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गरेर हिनामिना गरेको प्रहरीको भनाइ छ ।

सांसद बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोटमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको छ । तीनवटा सहकारीबाट बर्दियाको कृष्णसार रिसोर्टमा विनाधितो ऋण प्रवाह भएको पाइएको छ ।

रिसोर्ट बस्नेतकै जग्गामा भएको देखिएको छ । नगेन्द्रबहादुर रिमाल र सांसाद बस्नेतकै योजनामा सहकारीको रकमबाट रिसोर्टको आन्तरिक साजसज्जामा ठूलो लगानी गरेको देखिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सांसद बस्नेतका छोरीज्वाइँ एवं छिपछिपे सहकारीका सचिव, सनराइज र नमस्ते सरकारीका अध्यक्षसमेत रहेका रिमामालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्नेक्रममा सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने भनी सनराइजबाट ७ करोड र नमस्तेबाट ७ करोड रमक लगेको देखिन्छ ।

छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ हिनामिना भएकाले असुलउपर गरी क्षतिपुर्ति भराउनु पर्ने राय रजिष्ट्रार कार्यालयले दिएको छ ।

सो रकममध्ये अहिलेसम्म एक करोड रुपियाँ बराबरको हिसाव मिलान भएको छिपछिपे सहकारीका अध्यक्ष गोपीकृष्ण शर्माले जानकारी दिउ । ‘बचत र ऋणीको गरी एक करोड बराबरको हिसाब मिलान भएको छ, अध्यक्ष शर्माले भने, ‘तर ठूला ऋणीबाट रकम उठेको छैन ।’ छिपछिपेले विनाधितो आफ्ना मान्छेलाई ठूलो रकम ऋण प्रवाह गरेकाले सानो रकमका बचतकर्ता भने मारमा छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार


Scroll to Top

Janata Media