झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उदघाटन गर्दै उहाँले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताएका हुन् ।
उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए । “एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बिचमा जानसक्नुपर्छ”, उनले भने । देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले भने, “देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन ।” देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उहाँले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए ।
दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न सुझाव दिँदै नभए स्वस्थ निर्वाचनमार्फत पार्टीले जित्ने गरी नेतृत्व चुन्न उहाँको सुझाव थियो । पार्टी दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेलको अध्यक्षतामा भएको नगर अधिवेशन उदघाटनमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो । भोलिसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ । रासस







