सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८१ असार २४ गते, सोमबार

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सो गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही, इन्जिनियर रामराज शाही, सब-ओभरसियर पदम बहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्यलाई पनि आयोगले प्रतिवादी बनाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यस्तै योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।​

उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।​​​​

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैं आफ्नै फर्ममा बजेट विनियोजन गरेको आयोगको दाबी छ ।

गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २४ गते, सोमबार


Scroll to Top

Janata Media