न्यूरोड फुटपाथ विस्तारमा अध्ययन प्रतिवेदन बनाइने

जनता संवाददाता
२०८१ श्रावण ७ गते, सोमबार

काठमाडौँ । काठमाडौं महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ । वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरु सदस्य रहने गरी सहमति गरिएको हो ।

यस क्षेत्रको भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाको सहभागीतामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताए । फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्म स्थगित भएको उनको भनाइ छ । उनले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरुप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताए ।

उनले भने, “यो सहमतिभन्दा पनि जनताको जीत हो । सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइ स्थापित भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभएको कुनै पनि थोपर्ने खालको विकास जनताले अस्वीकार गरेको छ” उनले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरुप अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : २०८१ श्रावण ७ गते, सोमबार


Scroll to Top

Janata Media