भारतको केरलामा भीषण वर्षा : पहिरो परी ९३ जनाको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण १६ गते, बुधबार

केरला (भारत) । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।

केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बीबीसी हिन्दीलाई बताए । उनले भने, “हामीलाई क्षतिको आँकलन गर्नका लागि अझै केही घण्टा लाग्छ।”

केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार स्थानीय अस्पतालमा कम्तीमा ७० जना घाइतेलाई लगिएको छ । अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।

स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।

वायनाड पश्चिम घाट पर्वत शृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ। पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन्। बीबीसी

प्रकाशित मिति : २०८१ श्रावण १६ गते, बुधबार


Scroll to Top

Janata Media