काठमाडौँ । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा कैलास मानसरोवर दर्शनका लागि जाँदै गरेका सयौं दर्शनार्थीको बिचल्ली भएको छ।
रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभाग अन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द हुँदा कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको छ।
राजधानी काठमाडौंदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ। चाँडो राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।







