काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। जनतालाई सचेत र संगठित गर्न आफूहरुले चार महिने अभियान चलाएको उनको भनाइ थियो।
‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ। यसपछि यो अभियानपछि सङ्गठनलाई सुदृढ गर्छै र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरू र सवाललाई लिएर सडक संघर्षमा जानैपर्छ।’ उनले भने।
अध्यक्ष यादवले यो अभियानपछि सङ्गठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरू र जनताका सवाललाई लिएर सडक संघर्षमा उत्रिने बताए। जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्नेमा उनले जोड दिए।
‘यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन। अब पनि यिनीहरूकै भरमा देश र जनताको भविष्य छोड्ने कुरा हुँदैन। अब हामीले हस्तक्षेपकारी भूमिका सडकबाट, जनताको बीचबाट खेल्नका लागि तयार रहनुपर्छ।’ उनले भने।
अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको पनि जिकिर गरे।