काठमाडौं । दाङको लमही नगरपालिका–१, २ र ३ का बस्तीलाई लक्षित गरेर स्थापना गरिएको कौडिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १५ हजार लिटर खानेपानीको न्यूनतम शुल्क १५० रुपियाँ मात्र लिने गरेको छ । प्रतिस्पर्धाबाट चुनावी प्रक्रिया हुँदै उपभोक्ता समितिको नेतृत्व छानिने र निर्वाचनमा प्रतिबद्धता गरे अनुसार न्यून शुल्कमा खानेपानी वितरण गर्नु परेको उपभोक्ता समितिका नेतृत्वकर्ता नै बताउँछन् ।
कौडिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष भोजराज भुसालले आफूहरूले उपभोक्तासँग प्रतिबद्धता गरे अनुसारको शुल्क लिने गरेको बताए । उनले भने, “यो एकप्रकारको प्रतिस्पर्धा जस्तै भएको छ, निर्वाचनमा गर्छौं भन्ने तर नगर्ने गरेको, शुल्क न्यून नै हो, नयाँ संस्था भएर पनि कम मूल्यमा पानी खुवाउने प्रयास जारी छ ।” कौडिया खानेपानीको कार्यक्षेत्रभित्र दुई हजारभन्दा बढी उपभोक्ता भए पनि अहिलेसम्म जम्मा २५ प्रतिशत उपभोक्ताले मात्रै धारा जडान गरेका छन् । उक्त खानेपानी संस्थाको हाल रहेका सबै घरमा पानी वितरण गर्ने क्षमता छ ।
कौडियासँगै नजिकै रहेको नर्ती खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबाट वितरण भइरहेको खानेपानीको शुल्क पनि न्यून नै रहेको पाइन्छ । १२ हजार लिटर पानीको न्यूनतम शुल्क १५० रुपियाँ र प्रतियुनिट २० रुपियाँ दर कायम छ । नर्ती खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष गोविन्द पोख्रेलले आफूहरूले लिएको खानेपानी शुल्क न्यून रहेको स्विकारे । उनले भने, “उपभोक्तामा संस्था हाम्रो हो, यसलाई मजबुत बनाउनु पर्छ भन्ने चेतनाको स्तर नभएको हो कि के हो, जति शुल्क भए पनि बढी भयो भन्छन्, उपभोक्ताको स्थानबाट उनीहरूको भनाइ जायज होला तर व्यवस्थापनको हिसाबले न्यून शुल्कले समस्या दिलाउँछ ।” जिल्ला सदरमुकाम रहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबाट वितरण भइरहेको पानीको न्यूनतम शुल्क आठ हजार लिटरको १६० रुपियाँ छ ।
दाङकै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पनि नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पहिलेको खानेपानीको शुल्कमा हेरफेर गरी कम गरेको छ । संस्थाका सचिव वसन्ता आचार्यले आफूहरू निर्वाचित भएर आएपछि शुल्कमा केही परिवर्तन गरी कम गरिएको जानकारी दिए । उनले भने, “उपभोक्ताबाट महसुल घटाउनु पर्यो भन्ने खालको दबाब त थिएन, ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरी शुल्कमा हेरफेर गरेका छौँ ।” उनका अनुसार प्रति १२ हजार लिटरमा दुई सय रुपियाँ लिने गरिएको छ ।
उपभोक्तालाई न्यून शुल्कमा खानपानी खुवाउनु सकारात्मक विषय भए पनि दीर्घकालीन सञ्चालनमा समस्या पर्ने हुँदा दीर्घकालीन समयसम्म वितरण गर्न सक्ने गरी योजना बनाउन सरकारी निकायको सुझाव छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय घोराहीका प्राविधिक गजेन्द्रकुमार बहकरीले प्रतिस्पर्धा गरेर समितिले उपभोक्तामैत्री देखिन शुल्क न्यून लिने गरे पनि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।







