पार्टीलाई दिएको जग्गाबारे भ्रम नछरौंः एमाले महासचिव पोखरेल

जनता संवाददाता
२०८१ कार्तिक १ गते, बिहीबार

कोहलपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आग्रह गरेका हुन् ।

व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको उनको भनाइ छ । गुरुङले दान गरेको जग्गा एमालेले स्वीकार गरेको उनले स्पष्ट पारे । ‘गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’ उनले भने ।

मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनले स्पष्ट पारे । महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए । एमालेलाई कमजोर बनाउन चाहिने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ ।

एमालेमाथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएको बताउँदै महासचिव पोखरेलले अहिले पनि एमालेमाथि आक्रमण सुरु भएको बताए । उनले पार्टीको नीति र नेतृत्वप्रति विश्वास गर्न नेता कार्यकर्तालाई आग्रह गरे । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एक जना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टीमाथि आक्रमण गर्ने प्रयास भएको छ’ उनले भने ।

उनले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराए । त्यस्तै, राप्रपाको घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उनले बताए ।

उनले पार्टी समाजको संस्था भएकाले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताए । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उनको भनाइ छ । ‘पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’ उनले भने । एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उनले बताए । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते, बिहीबार


Scroll to Top

Janata Media